बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पुरानो भद्रपुर रोडछेउ सतानु पैनीमा रहेका सुकुम्बासी बस्तीका तीन वटा घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहान गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीको काठबाट बनेको टाँडे घरमा आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि सुरक्षा बेस शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको नेतृत्वमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा १० जना तथा श्री अरिदमन गण चारआलीबाट सेनानी किशोरकुमार खड्काको नेतृत्वमा २५ जना सुरक्षाकर्मी परिचालन भएका थिए।
त्यस्तै, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका तीन वटा दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा बिहान ५ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट तीनवटै घर पूर्ण रूपमा नष्ट हुनुका साथै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















