झापा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको दुःखद घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा भएको सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक अनुसन्धान सुरु गर्ने, प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति भएको छ।
साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।
गृह मन्त्रालय र पीडित परिवारबीच भएको उक्त सहमतिपत्रमा मृतक परिवारका अभिभावक तथा गृहमन्त्रीको तर्फबाट हस्ताक्षर गरिएको छ। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ।
*गृहमन्त्री सुधन गुरुङ र मृतक ओम प्रकाश मेहताको परिवारबीच ७ बुदे संझौता भएको सम्बन्धमा।*
गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाध स्वच्छता मन्त्री निशा मेहताले सुनसरीस्थित प्रहरीको गोली लागेर मृत्यु भएका मेहताको घरमा आएर सहमति गरेका हुन् ।


















