बिर्तामोड । नेपाल जेसीज वर्ष २०२६ अन्तर्गत क्षेत्र ‘क’ सम्मेलन आगामी असोज ९ र १० गते झापाको चारआलीमा आयोजना हुने भएको छ। सम्मेलनको आतिथ्यता चारआली जेसीज ले गर्नेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको लोगो अनावरण तथा सचिवालय उद्घाटन गरिएको छ। चारआली जेसीजका अध्यक्ष सञ्जय निरौला ले सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको जानकारी दिए।

कार्यक्रम संयोजक तथा नेपाल जेसीजका पूर्व अध्यक्ष उत्तम पकुवाल का अनुसार सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका पूर्वी नेपालका ४६ शाखाबाट करिब ५०० प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनले युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास तथा स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्य लिएको उनले बताए।

सम्मेलनमा अन्तर–शाखा वक्तृत्वकला प्रतियोगिता, थिम सेमिनार, वित्तीय साक्षरता तथा लगानी तालिम, एआई (AI) आधारित डिजिटल मार्केटिङ तालिम लगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै कोशी प्रदेशको मौलिक संस्कृति, कला र स्थानीय उत्पादनको प्रदर्शनीसमेत आयोजना गरिनेछ।

सम्मेलनका लागि ४० लाख रुपैयाँको अनुमानित बजेट तयार गरिएको छ। बजेटमध्ये १३ लाख रुपैयाँ दर्ता शुल्क, ५ लाख रुपैयाँ प्रदेश तथा संघीय सरकार, १० लाख रुपैयाँ स्थानीय सरकार तथा १२ लाख रुपैयाँ प्रायोजक र सहयोगी संस्थाबाट जुटाइने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

व्ययतर्फ अतिथि सत्कार तथा भोजनमा १२ लाख रुपैयाँ, प्रविधि तथा अडियो–भिजुअल व्यवस्थापनमा ६ लाख रुपैयाँ, भौतिक पूर्वाधारमा ४ लाख ५० हजार रुपैयाँ तथा प्रचार–प्रसार, सुरक्षा, सम्मान, सांस्कृतिक कार्यक्रम र अन्य व्यवस्थापनमा बाँकी बजेट खर्च गरिनेछ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशसभा सदस्य सविना बजगाईं ले सम्मेलनले युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै झापाको पर्यटन र आर्थिक गतिविधि प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

आयोजकले सम्मेलन सम्पन्न भएको १५ दिनभित्र सम्पूर्ण खर्चको लेखापरीक्षण (अडिट) गरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। साथै सम्मेलनलाई सफल बनाउन सञ्चारकर्मी, सरोकारवाला निकाय तथा सबै पक्षसँग सहयोगको अपिल गरिएको छ।