अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित प्रगति टोलमा पहिलोपटक मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
मिलडाँडा युवा परिवार अर्जुनधारा–११ को आयोजनामा आगामी देउनिया खेलमैदानमा आगामी असोज १७ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा बढीमा ८ वटा भेट्रान्स फुटबल टोली सहभागी हुने आयोजकले जनाएको छ ।
स्थानीयस्तरमा खेलकुदको विकास, भेट्रान्स खेलाडीको प्रतिभा प्रदर्शनका लागि अवसर सिर्जना तथा खेलाडीबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।
प्रतियोगितामा ४० वर्ष उमेर समूहभन्दा माथिका भेट्रान्स खेलाडी सहभागी हुनेछन् । खेलकुद गतिविधिलाई संस्थागत गर्दै अर्जुनधारा नगरपालिकालाई खेलकुदको क्षेत्रमा थप परिचित गराउने लक्ष्यसमेत आयोजकले लिएको छ ।
प्रतियोगिताका लागि आयोजकले ७ लाख ६० हजार २२२ रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित बजेटमा प्रथम पुरस्कारका लागि ५१ हजार १११ रुपैयाँ, द्वितीय पुरस्कारका लागि ३१ हजार १११ रुपैयाँ तथा ट्रफी, मेडल, प्रमाणपत्रलगायतका लागि ७० हजार रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै खेलमैदान तयारी तथा व्यवस्थापन, खेलकुद सामग्री तथा खेलाडी पोशाक, खेलाडी तथा स्वयंसेवक खाजा र अतिथि सत्कार, रेफ्री तथा प्राविधिक, मेडिकल, प्रचारप्रसार, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा र स्वयंसेवक व्यवस्थापनलगायत शीर्षकमा खर्च गर्ने प्रस्ताव गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि स्थानीय सामाजिक संघसंस्था, व्यवसायी तथा शुभेच्छुक, आयोजक संस्थाको आन्तरिक स्रोत र अन्य वैधानिक स्रोतबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको छ ।
प्रतियोगिताबाट भेट्रान्स खेलाडीको खेलकौशल तथा प्रतिभा प्रदर्शनमा सहयोग पुग्नुका साथै स्थानीय तथा बाह्य खेलाडीबीच सम्बन्ध र सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ । साथै अर्जुनधारा नगरपालिकामा खेलकुद गतिविधि बढाउन र युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रतियोगिताले योगदान पुर्याउने आयोजकको विश्वास छ ।




















