बिर्तामोड । पूर्वेली ढुवानी सेवा प्रालिले विश्वकर्मा पूजाको अवसरमा चालक, सहचालक तथा कर्मचारीलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगसमेत गरेको छ।

बिर्तामोड–६ बुट्टाबारीमा आयोजित कार्यक्रममा कम्पनीले आफ्ना सवारी साधनको पूजा गर्दै चालक, सहचालक, कर्मचारी तथा व्यावसायिक साझेदारलाई विश्वकर्मा पूजाको शुभकामना दिएको हो।

पूर्वेली ढुवानी सेवाले हाल ४० भन्दा बढी मालवाहक ट्रक सञ्चालन गर्दै आएको जनाएको छ। चालक, सहचालक र कर्मचारी गरी करिब १ सय जनाले यहाँ प्रत्यक्ष रोजगारी पाइरहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा लामो समयदेखि ढुवानी व्यवसायमा योगदान पुर्‍याउँदै आएका चालकलाई सम्मान गरिएको छ। पाँचथर, हिलिहाङ गाउँपालिका–२ का नरेश मगरलाई उत्कृष्ट चालकका रूपमा नगद ३१ हजार रुपैयाँ तथा सोही स्थानका सुवास प्रसाईंलाई नगद २१ हजार रुपैयाँसहित सम्मान गरिएको छ। त्यस्तै बिर्तामोड–५ का तेजप्रसाद कडरियालाई पनि चालक तथा ढुवानी व्यवसायमा लामो समयदेखि योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बिर्तामोड–६ का १० वर्षीय साइमन हस्दाकाे बोनम्यारोसम्बन्धी समस्याको उपचारका लागि ११ हजार रुपैयाँ सहयोग गरेको छ।

पूर्वेली ढुवानी सेवाका अध्यक्ष निर्मलराज खत्रीले आगामी दिनमा पनि कर्मचारीको सुरक्षा, कल्याण र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। कम्पनीले आकस्मिक स्वास्थ्य उपचार तथा आपत्कालीन आवश्यकतामा कर्मचारीलाई सहयोग गर्न स्टाफ इमर्जेन्सी फन्ड सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।