झापा । जिल्ला अदालत झापामा ४ जना मेलमिलापकर्ता थपिएका छन् । अदालतका प्रमुख न्यायाधीश प्रकाश राउतले एक कार्यक्रमका बिच थपिएका मेलमिलापकर्तालाई सपथ गराएका हुन् ।
अदालतमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई सपथ गराइएको हो । कार्यक्रममा बोल्दै प्रमुख न्यायाधीश राउतले मेलमिलाप प्रक्रियाबाट विवाद समाधान हुँदा दुवै पक्ष जित जितकाे अबस्थामा पुग्ने, पक्षको समय र खर्चको बचत हुने, सम्बन्धको पुनर्स्थापना हुने एवं विवादको वैकल्पिक र दीगो समाधान मेलमिलाप भएकोले अदालतले न्यायसम्पादनमा मेलमिलाप प्रक्रियालाई प्राथमिकतामा राखेको बताए। सूचीकृत मेलमिलापकर्ताले अनुशासन र इमान्दारीका साथ मेलमिलाप प्रक्रिया सञ्चालन गरेमा मेलमिलाप प्रक्रियाको महत्व बृद्धि भै अदालतको कार्यबोझ समेत कम हुने उनले धारणा राखे ।
न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/०८२–२०८५/०८६) बमोजिम विवाद समाधानका लागि मेलमिलाप पद्धतिलाई प्रभावकारी बनाउन मेलमिलाप हुन सक्ने प्रकृतिका ५० प्रतिशत मुद्दाहरू मेलमिलाप प्रक्रियामा पठाउने र यसरी मेलमिलाप प्रक्रियामा पठाइएका मुद्दामध्ये ५० प्रतिशत मुद्दाहरूमा सफल मेलमिलाप (मिलापत्र) गराई विवाद समाधान गर्ने लक्ष्य राखिएको छ। अदालतमा गत आर्थिक वर्ष ०८२-८३ मा मेलमिलाप प्रक्रियामा पठाउने आदेश भएका मुद्दा मध्ये २० प्रतिशत मुद्दा मात्र सफल भएकोमा मेलमिलापकर्ता थपिए संगै मेलमिलापको सफल प्रतिशत बढ्ने भनी अदालतका स्रेस्तेदार डिल्लीराम प्रसाईले बताए।
अदालतका न्यायाधीश, स्रेस्तेदार र मेलमिलाप शाखाका कर्मचारी समेतको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो।सुचिकृत मेलमिलापकर्तालाई सपथ गराएपछि झापा जिल्ला अदालतमा सूचिकृत हुनेको संख्या ४७ जना पुगेको अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।
बिषेश गरी पारिवारिक विवाद एवं सम्पत्ति र ब्यवसायिक साझेदारीसंग सम्बन्धित मुद्दा इजलासबाट आदेश भएर वा पक्षले स्रेस्तेदार समक्ष निवेदन गरेमा मुद्दा मेलमिलाप केन्द्रमा पठाई सुचिकृत मेलमिलापकर्ताहरुबाट मेलमिलाप गराउने कानूनी व्यवस्था रहेको बस्नेतले बताए ।




















