बिर्तामोड । सडकमा आश्रित मानिसका लागि पाँच रुपैयाँमै खाना। सुन्दा सामान्य लागे पनि बिर्तामोडमा यही अभियानले दैनिक सयौँको भोक मेटाइरहेको छ। 'किङ गोर्खा फाउन्डेसन (केजीएफ)' ले २०८२ पुसदेखि सञ्चालन गर्दै आएको अभियानअन्तर्गत बिर्तामोडका सडकमा आश्रित तथा विपन्न नागरिकले पाँच रुपैयाँमा खाना पाउँदै आएका छन्।
फाउन्डेसनका संस्थापक बिक्रम सुब्बाका अनुसार दैनिक करिब १५० जनाले पाँच रुपैयाँमा खाना खाने गरेका छन्। महँगो हुँदै गएको बजार र आर्थिक अभावका कारण नियमित खानासमेत जुटाउन नसक्नेहरूका लागि यो अभियान सहारा बनेको फाउन्डेसनको दाबी छ।
केजीएफले खाना खुवाउने अभियानसँगै बिर्तामोडमा रहेका सामुदायिक कुकुरलाई खाना र पानीसमेत उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाका अनुसार बिर्तामोडमा सडकमा आश्रित मानिसको संख्या करिब १०० जना रहेको छ।
भोटेकोशी बाढीपीडितलाई पाँच लाखको राहत
सामाजिक सेवामा सक्रिय केजीएफले भोटेकोशी बाढीपीडितका लागि करिब पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिसकेको जनाएको छ। विपद्का बेला प्रभावित परिवारसम्म राहत पुर्याउने काममा समेत संस्था सक्रिय रहेको संस्थापक सुब्बाले बताए।
यसैबीच, केजीएफले बिर्तामोड–५ मा कार्यालय उद्घाटन तथा दाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं प्रमुख अतिथि थिए।
कार्यक्रममा संस्थापक सुब्बाले सडकमा आश्रित, विपन्न तथा असहाय नागरिकलाई लक्षित गरी सुरु गरिएको अभियानलाई निरन्तरता दिन समाजका सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
वडाध्यक्ष प्रसाईंले केजीएफले सञ्चालन गरिरहेका सामाजिक गतिविधि मानवीय सेवासँग जोडिएको भन्दै यस्तो अभियानमा समुदायको साथ र सहकार्य आवश्यक रहेको बताए।
भोकालाई खाना, बेसहारालाई सहारा र सडकका जनावरलाई समेत खाना–पानी—केजीएफले बिर्तामोडमा सामाजिक सेवाको फरक अभ्यास अघि सारेको छ। अब यस्तो अभियानलाई निरन्तरता दिन दाता, व्यवसायी, स्थानीय सरकार र समुदायको साथ कति जुट्छ, त्यो महत्वपूर्ण हुनेछ।




















