बिर्तामोड । बिर्तामोड नगरपालिका–२ बेलडाँगी डाँडागाउँ टोल विकास संस्थामा बसोबास गर्दै आएका ६२ वर्षीय मोहन मुर्मुको घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।
खोलामा मुर्मु मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेको थियो।
बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलका अनुसार घटनास्थलमा मृतकको मुचुल्का उठाउने काम भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
मृत्युको यकिन कारण पुष्टि गर्न शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मेची लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
खोलानालामा विद्युतीय करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा भएको घटनाले यस्तो जोखिमपूर्ण गतिविधिबाट हुनसक्ने दुर्घटनाप्रति समेत गम्भीर ध्यानाकर्षण गराएको छ।




















