बिर्तामोड । आज बुधबार देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका धेरै स्थानमा बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। झापा आसपास पनि मौसम बदली भई वर्षा हुनसक्ने भएकाले यात्रा तथा दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ। 

आज विराटनगरमा अधिकतम ३६–३८ डिग्री र न्यूनतम २६–२८ डिग्री सेल्सियस, धनकुटामा ३४–३६ डिग्री तथा १९–२१ डिग्री र ताप्लेजुङमा २७–२९ डिग्री तथा १७–१९ डिग्री सेल्सियस तापक्रम रहने पूर्वानुमान छ। कोशीका विराटनगर, धनकुटा, धरान र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशत आसपास रहेको छ। 

नेपालमा पछिल्लो २४ घण्टामा पञ्चमुलमा ७६ मिलिमिटर वर्षा मापन भएको छ। यता कन्काई नदीको मैनाचुलीस्थित जलसतह ३.० मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले भारी वर्षा भएमा पहाडी क्षेत्रमा पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।