बिर्तामोड । झापासहित कोशी प्रदेशमा आज बिहीबार मौसम बदली भई वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने देखिएको छ।
आज विराटनगर र धरानमा वर्षाको सम्भावना ७० प्रतिशत, धनकुटामा ७० प्रतिशत तथा ताप्लेजुङमा ६० प्रतिशत रहेको विभागको पूर्वानुमान छ। विराटनगरमा अधिकतम तापक्रम ३२–३४ डिग्री, धरानमा ३३–३५ डिग्री र धनकुटामा २८–३० डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ।
झापा र आसपासका क्षेत्रमा पनि मौसममा बदली रही समय–समयमा पानी पर्नसक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी खुला स्थानमा काम गर्ने, लामो दूरीको यात्रा गर्ने तथा खोला–नदी आसपासका बासिन्दाले मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै गतिविधि गर्नुपर्ने देखिन्छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते कोशीदेखि गण्डकी हुँदै लुम्बिनी प्रदेशसम्मका पहाडी तथा हिमाली क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहनुपर्ने अवस्था छ।
झापाका प्रमुख नदी तथा खोलामध्ये कनकाई नदीको मैनाचुलीस्थित मापन केन्द्रमा पानीको सतह २.८ मिटर रहेको छ। उक्त स्थानमा चेतावनी तह ३.८ मिटर र खतरा तह ४.३ मिटर तोकिएको विभागको तथ्यांक छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ। भगवानपुरमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ। मौसम तथा बाढीसम्बन्धी थप जानकारीका लागि विभागले टोल–फ्री नम्बर ११५५ उपलब्ध गराएको छ।



















