काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा पर्यटन क्षेत्रको विकास, सम्भावना र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पर्यटन कार्यालय काँकडभिट्टा, झापाको आयोजनामा तथा अध्यागमन कार्यालय काँकडभिट्टाको समन्वयमा आयोजित कार्यक्रममा ‘वर्तमान सन्दर्भमा पर्यटन क्षेत्रको विकास, सम्भावना र चुनौती’ विषयमा पर्यटनविद् आलोक प्रसाईंले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा चरा अनुसन्धानकर्ता देवेन्द्र खरेल, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो। सहभागीहरूले पूर्वी नेपालको पर्यटन विकासका लागि सीमा नाका, प्राकृतिक सम्पदा, चरा पर्यटन, होमस्टे तथा धार्मिक र सांस्कृतिक पर्यटनलाई थप व्यवस्थित र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल भ्रमण गरेर फर्कृदै गरेकी भुटानकी धनकुमारी गुरुङ र नेपाल भ्रमणमा आएकी अमेरिकाकी जुवी अप्रावोलाई स्वागत गरिएको थियो।
कार्यक्रममा पर्यटन प्रवर्द्धन तथा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो। सुमेरु टुर्स एण्ड ट्राभल्सका सञ्चालक खगेन्द्रप्रसाद सुवेदी, भारतीय सञ्चारकर्मी प्रशान्त आचार्य, सिलिगुडी जर्नालिष्ट क्लब, पर्यटन पत्रकार मञ्च झापा, होटल व्यवसायी प्रशान्त गिरी, होमस्टे सञ्चालक कुशल सापकोटा र मणिराज गुरुङ, लाइफ लाइन टुर्स प्रालिका भुपाल बस्नेत, छितेन शेर्पा तथा प्रेस क्लब मेचीनगरलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता पर्यटन कार्यालय काँकडभिट्टाका अध्यक्ष छविलाल खतिवडाले गरेका थिए। सहभागीहरूले नेपाल प्रवेश गर्ने प्रमुख पूर्वी नाका काँकडभिट्टालाई पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्दै सीमा क्षेत्रका पर्यटन गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

















