झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित एक घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज २३ गते राति १२:१५ बजे गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले तास खेलिरहेको अवस्थामा पक्राउ परेका पाँच जनाको साथबाट ४४ हजार ३५५ रुपैयाँ नगद र सात बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा मेचीनगर–४ बाहुनडाँगीका ५८ वर्षीय भवानीप्रसाद गुरागाईं, मेचीनगर–१ गाडागल्लीका ५४ वर्षीय पुरुषोत्तम बराल, मेचीनगर–३ मन्दिर टोलका ४८ वर्षीय किशोर गोले, मेचीनगर–५ पाण्डव टोलका ३८ वर्षीय डम्बरबहादुर गिरी र मेचीनगर–२ रामनगरका ३० वर्षीय प्रकाश राई रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।




















