झापा । सुनसरीको बर्जूमा सादा पाेषाकमा डियुटिमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोहका नाइकेसहित ६ जना पक्राउ परेका छन् ।

शुक्रवार दिउँसाे साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ ।

सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू शुक्रवार साढे १२ बजे बर्जू गाउँपालिका १ शुक्रबारेमा पुगेमा पुगेका थिए । 

‘त्यहाँ पुग्ने बित्तिकै लुटेरा समूहसँग सादा पोषकका प्रहरीको जम्काभेट भयो । ४ जनाको लुटेरा समूहलाई प्रहरीले देखेपछि साथमा बोकेको चाइनिज पेस्तोल र म्यागेजिन तेर्साए र फाइरिङ गर्न खोजे । तर उनीहरूको हतियार फाइरिङ भएन । त्यसपछि लुटेरा समूह अगाडी बढेर प्रहरीको साथमा भएको हतियार र गोली खोसेर आक्रमण गरी फरार भए,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘लुटेरा समूहसँग पनि हतियार रहेको थियो । उनीहरूले पनि फाइरिङ गर्न खोजेका रहेछन् । उनीहरूको पेस्तोलबाट पनि गोली झरेपछि त्यहाँ फाइरिङ भएन र मानवीय क्षति हुनबाट जोगियो ।’

लुटेराले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यस्तै प्रहरीले उनीहरुको साथबाट लुटेको मोवायल र केही रकम पनि बरामद गरेको छ ।

पक्राउ परेका अन्य व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । आज दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी प्रहरीकाे छ । सुनसरी र मोरङमा श्रृंखलावद्ध लुटपाट र प्रहरीको हतियार लुटेर समूह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘श्रृंखलावद्ध लुटपाट गर्ने समूह पक्राउ परेकाे छ,’ उनले भने, ‘विस्तृतमा जानकारी केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिनेछौँ ।’