विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासकाे मत दिन सबै दलकाे नेता मार्फत सांसदहरूलाई अनुराेध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासकाे मत लिने कार्यक्रम छ ।

`प्रस्तुत विषयमा नेपालको संबिधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईको दल समक्ष हार्दिक अनुरोध गर्दछु’, कार्कीले पत्रमा चनेकालछन्, `साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलिय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।´

सर्वाेच्च अदालतको परमादेशपछि भदाै २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाकाे चाैथाे अधिवेशन गत असाेज १७ गतेदेखि जारी छ ।

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वत: पदमुक्त हुनेछन् भने संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार अर्काे सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासकाे मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएकाे राप्रपाले पनि यसपटक तटस्थ बस्ने सम्भावना बढी छ । जसकाे कारण कार्की नेतृत्वको सरकारले विश्वासकाे मत पाउने सम्भावना कमजाेर भएकाे हाे ।
प्रदेशसभामा एमालेकाे उपसभामुखसहित ४०, काँग्रेसकाे २९, माओवादी केन्द्रकाे १३, राप्रपाकाे ६, नेकपा एकीकृत समाजवादीकाे ४ र जसपाकाे १ सांसद गरि ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।