झापा । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् ।

received_1668004377044546

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले आज नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आव्हान गरेका हुन् । 

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले असोज २६ गते अपरान्ह ५ बजेभित्र सरकार गठनको लागि दाबी पेश गर्न समय दिएका छन् । 

आजै बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ ।

काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरुले राप्रपासमेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा भने ती दलहरु अहिलेसम्म अनिर्णित छन् ।