बिर्तामोड । चिनियाँ नागरिकले नेपाली नागरिकता बनाउने गरेको रहष्य खुलेेको छ । नेपाली नागरिकतासहित एकजना चिनियाँ नागरिक भारतको पानीट्याङकीमा पक्राउ परेपछि यस्तो रहष्य खुलेको हो । 

नेपाली नागरिकता बोकेर भारत प्रवेश गरेका एक चिनिया नागरिक शुक्रबार काँकडभिट्टा नाकामा पक्राउ परेका छन्।

चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ।

नेपाल–भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनिया नागरिक ली शियाकाङ, उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन्। उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए। तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन।
एसएसबीका जवानलाई उनीमाथि शंका लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको खुलेको थियो। त्यसपछि चिनिया नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएको थियो ।

प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ।

केही समय अघि नेपालका जनप्रतिनिधिकै मिलेमतोमा बिदेशी नागरिकलाई नेपाली नागरिकता बनाईदिने गरेको खुलेको थियो । 

बिर्तामोड र भद्रपुर नगरपालिकाका दुइजना वडाध्यक्षले बिदेशी नागरिकलाई नेपाली नागरिकता बनाईदिएको मुद्दा अहिले पनि अदालतमा बिचाराधिन छ ।