कृष्ण हुमागाँई /

    धर्म, संस्कार, संस्कृति र परम्परा भनेको ब्यक्तिले आफ्नो संस्कार संस्कृति अनुसार मान्ने, मनाउने हो । ब्यक्तिको, समुदायको धर्म हुन्छ । तर राष्ट्रको कुनै धर्म हुँदैन । अझ हाम्रोजस्तो बहु जातीय, बहुभाषिक, बहुधार्मिक र बहु सांस्कृतिक परम्परा रहेको मुलुकमा त झन् राज्यको कुनै धर्म मात्र राज्यको धर्म हुनै सक्दैन । कतिपय मुलुकहरु कुनै खास जाति बिशेषको बाहुल्यता भएको वा एकै जातिको मात्र बसोबास भएको स्थानमा कुनै एक धर्मलाई राज्यको धर्मको रुपमा ब्याख्या गरिएको हुनसक्छ । तर, नेपालको परिवेश ठीक बिपरीत छ । त्यसैले नेपाललाई कसैले कुनै धर्म बिशेषको राज्य बनाउँछु भन्छ भने त्यो समाजमा झगडा लगाउने र भोटको राजनीतिका लागि आफ्नो स्वार्थको रोटीसेक्ने पाखण्ड हो ।

धार्मिक स्वतन्त्रता भएको, सबै धर्मकाप्रति समभाव राख्ने धर्म निरपेक्ष राष्ट्र नै नेपालको सन्दर्भमा उपयुक्त हुन्छ । धर्मको आडमा आफूलाई भगवान बिष्णुको अवतार भएको भ्रम फैलाएर निरंकुश शासन लादने राणा र शाहवंशको राजगद्दी अन्त्य भएर मुलुक लोकतान्त्रिक गणतन्त्रको महामार्गमा आइपुगेको छ । यस्तो आधुनिक परिवर्तन भइसक्दा पनि पुरातनपन्थी सोच भएका, परिवर्तनको आन्दोलनमा कुनै भूमिका र योगदान नदिएका राष्ट्रघाती, जनबिरोधी सनमन्तका दलाल सन्तानहरु फेरिपनि धर्मका नाममा राजनीति गरेर निरंकुश ज्ञानेन्द्रको गुमेको गद्दी र्फाउन सकिन्छ कि भनेर धमिलो पानीमा माछा मार्ने दाउ हेरेर बसेका छन् । यिनलाई साँचिचकै धर्मको माया भएको हो भने ज–जस्ले धर्मको कुरा उठाउँछन्, उनीहरुले आफ्नो सारा सम्पत्ति आफू नजिकको मठ, मन्दिर र देवालयहरुलाई लिखत पास गरेर दान गरुन, अनि धर्मको कुरा गरुन ।

यहाँपनि धर्मको कुरा गर्ने भए पार्टी, दल त्यागेर धर्मको मात्र कुरा गर्नु प¥यो । दलको नेतृत्वमा बसेर धर्मका कुरा गर्दै भोटको राजनीति गर्ने पाखण्डले कुनैपनि धर्मको रक्षा गर्न सक्दैन । कुनैपनि देशको एउटा मात्र धर्म हुनु हुदैन । जाताको धर्म हुन्छ, एगटा देशमा धेरै धर्म मान्ने जनता बस्न सक्छन् । त्यसैले अबध धर्म निरपेक्ष भनेर संविधानमा लेखिसकिएको अवस्थामा एकल धार्मिक मुलुक घोषणा गरेर संविधान संशोधन गर्न त्यति सजिलो छैन । त्यसले अर्को बिद्रोह जन्माउँछ । धर्मका नाममा बिवाद गर्नेहरु, झगडा बढाउन खोज्नेहरुले देश र जनताको भलो चाहेका होइनन् । पहिचान र धर्मका नाममा हिंसाको राजनीतिलाई बढावा दिनेहरु यो मुलुकका धमिरा हुन् । यीनले देशलाई भित्रभित्रै समाप्त पारिरहेका हुन्छन्  ।

कमजोरले गर्छ धर्मको आडमा राजनीति

जब कुनै पनि पार्टी वा समूहको नीति, बिचार र कार्यक्रम जनहितकारी, हुदैन । तब त्यस्तो जमातले कि जाती नश्लवादी र धर्मका नाममा हिंसको बाटो समाउँछ, कि धर्मको आडमा भ्रमको जालो फैलाउने दुष्प्रयास गर्छ । पार्टीको नीति समाजवादी छ, लोक कल्याणकारी राज्य ब्यवस्थाको परिकल्पनासहितको आर्थिक, सामाजिक कार्यक्रम लिएर जनताको आँगनमा जाने पार्टीले धर्मको सहारामा राजनिितको रोटी सेक्ने चरम् स्वार्थी खेल गर्नै पर्दैन । पार्टीको नीति कार्यक्रमलाई मन पराएर जनता आफैं दलमा आवद्ध भइहाल्छन् नि । नीति जनतामा फेल भएपछि, जनताले चुनावमा नपत्याएपछि, अग्रगमन र परिर्वतनका बाधक र बिरोधीहरु, प्रतिगामी, पुनरुत्थानवादी झुण्डले जहिले पनि कि जातीयताका नाममा, कि धर्मका नाममा आफ्नो राजनीतिक डम्फू बजाउने गरेका छन् ।

धर्मको प्रचार गर्ने, शाास्त्रको ब्याखया गर्ने, बैदिक संस्कार गर्ने, गराउने, कर्मकाण्ड, न्वारन, पास्नी, ब्रतवन्ध, बिवाह, तिथि सराद (श्राद्ध) दशगात्र–सुद्याईकर्म, भजन–कीर्तन पुराँण गर्ने वाचन गर्ने यी सबै कर्म राजनीतिक दलले गर्ने होइन । दलमा आस्था राख्ने वा दलकै नेता–कार्यकर्ता भएपनि उस्ले ब्यक्तिगत र पारिवारिक रुपमा यो कार्य गर्न सक्दछ । तर राजनैतिक दलले यस्तो कार्यको ठेकका लिएर हिड्दा देश बन्न सक्दैन । अनि यस्तो कार्यको पछि लागेर राष्ट्र बनाउँछौं भननेको कुरा पत्याएर आफ्नो समय र सामथ्र्य खेर फाल्नु राम्रो होइन । राजनैतिक दलले त समग्र नीतिहरुले समाजलाई, राष्ट्रलाई प्रगतिपथमा लैजाने कार्यक्रम पो ल्याउनु पर्दछ । यो धर्मको कुरा गर्ने काम साधु, सन्त, महन्त, पुजारी, गुरुजीहरु,बिजुवा, फेदाङवा, लामा, मौलानाहरुलाई छोडिदिनुपर्छ । दलले सबै जनताको हितका खातिर दलको काम गर्ने, धार्मिक क्षेत्रले धर्म–संस्कार संस्कृति र परम्पराको संरक्षण, संवद्र्धनमा लाग्ने हो । जनताले आफ्नो रुची र आस्था अनुसारको धर्म मान्ने हो ।

नीतिमा स्खलित भएपछि वा बदलिदो समाजले आफ्नो पार्टीको नीतिलाई अश्विकार गरेको थाहा पाएपछि कमजोर दलले धर्म, जात र नश्लवादको कुरा गर्न थाल्छ । यी तीन कुराले अन्ततः फरक धर्म–सम्प्रदाय र जात–जातिकाबीचमा द्वन्द्व बढाउँदछ ।  नीतिमा परिर्वन गरेर, सुधारेर प्रतिष्पर्धा गर्न सकिन्छ । धर्म ग्रन्थमा परिवर्तन सम्भव हुँदैन । संस्कार र संस्कृतिमा त समय अनुसार केही परिवर्तनहरु हुदै आएका छन् । तर धर्म र जातमा धरै फँसियो भने त्यस्तो बिवादले हिंसा बढदछ । बिश्वमा यस्ता कैयन उदाहरणहरु छन् । जो धर्मका नाममा भएका छन् ।  संकीणतावादी धर्मभिरु र नश्लीय जातिवादीहरु भनेका मानवता बिरोधी हुन् । तिनले बिश्व ब्रम्हाण्डको रक्षा र समग्र मानव जातिको कल्याण सोच्दैनन् । जातिभित्रै पनि थर र गोत्र, धर्म भित्रपनि आफ्नो सम्प्रदायको मात्र चिन्ता गर्ने हुँदा राजनीति गर्छु भन्नेले जाति र धर्मको कुरा लिएर आउँछ भने मानवतावादी सभ्य नागरिकले त्यस्ता पाखण्डीलाई बहिस्कार गर्नुपर्दछ । सबै जाति, सबै भाषा–भाषी, समुदायका मानिसको कल्याण हुने, कसैप्रति बिभेद नहुने सबैलाई समान ढंङ्गले समेटने नीति ल्याउनेलाई मात्र राजनीतिमा स्थान दिनु बिवेकसिल नागरिकको कत्र्तव्य र दायित्व हो ।

अधर्मीको पञ्जामा धर्मको खेती

धर्म, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तर धर्मलाई कमाई खाने भाँडो बाउनेहरु, धर्म, संस्कार र संस्कृतिका नाममा बिकृति भित्र्याउनेहरु, धर्मको आडमा आफ्नो दुनो सोझ्याउँदै आएका पाखण्डीहरुकै कारण अधर्मीको पञ्जामा धर्मको खेती भइरहेको छ । धर्म, संस्कार र संस्कृति भनेको स्वेच्छाको बिषय हो । यो अनिवार्य र दण्डनीय बिषय होइन हाम्रो मुलुकमा । कानूनको पालना अनिवार्य बिषय हो । धार्मिक कानून भएका मुलुकहरुमा भने धर्म, संस्कार र संस्कृति मान्नै पर्ने अनिवार्य बिषय बन्दछ । तर हाम्रो मुलुकमा पनि धर्मको ठेकका लिएर बसेकाहरुले यसलाई आफ्नो स्वार्थ अनुकुल हुनेगरी दूरुपयोग गरिदिंदा हाम्रो मौलिक सनातनी धर्ममा प्रहार भइरहेको छ ।

कुनै संघ–संस्था, बिद्यालय वा सार्वजनिक निकायहरुको उननयनका लागि पनि धार्मिक अनुष्ठानहरु आयोजना गर्ने गरिएको पाइन्छ । आर्थिक उपार्जन अर्थात धन आर्जन, संकलन गर्ने उद्देश्य राखेर धार्मिक अनुष्ठानहरु आयोजना गर्नु नै गलत हो । अनुष्ठानमा आएर कसैले स्वेच्छाले दान गर्नु भनेको अलग्गै बिषय हो । तर, घर–घरै खाता बोकेर पुगी जबर्रजस्ती चन्दा लेखाउनु पनि धर्म बिरोधी कार्य हो । सार्वजनिक हुने डरले, अगुवाहरुले केही अनिष्ट पो गरिदिने हुन् कि भन्ने त्रासले चन्दा लेखाउन निमुखा गरीबहरुलाई बाध्य बनाइनु धर्म होइन । पाप हो । सामाजिक काममा धनी, पूँजीपतिहरुले लगानी गर्नुपर्छ । जोसँग धेरै धन छ, त्यसैले धेरै दिनुपर्छ । गरीबहरुसँग चन्दा असुलेर मैले यस्तो सामाजिक काम गरें भनेर महान समाजसेवीको पगरी गुथ्नेहरुले अर्काको चन्दा बिनै आफ्ना पितृहरुको सम्झनामा, आफ्नै सम्पत्तिको लगानीमा सत्कर्म गर्नसक्नु पर्दछ । न कि अरुको पैसामा समाजसेवी बन्ने अधर्मी काम गरेर आत्मरतिमा रमाएर भ्रमको जालो फैलाउनु ।

धर्म भनेको सम्प्रदाय बिशेषले मान्ने र नमान्ने पनि हुनसक्छ । तर लोकतान्त्रिक शासन ब्यवस्था भएको  मुलुकमा राजनीतिले सबै देशबासी जनातको भलो  गर्नुपर्छ । जनात सबैको हुनुपर्छ । राजनीतिमा जनता मेरो र तेरो भन्ने हुँदैन, हुनु हुँदैन । राजनीति कुनै वर्ग, पेशा वा धर्म वा जात–जाति, सम्प्रदाय वा भुेगोल वा रङ्गका आधारमा हुनुहुँदैन । हुन त सामन्त र कम्युनिष्टहरु आफ्नो वर्ग बिशेषका लागि राजनीति गर्दछन् । उनीहरु सबै जनताका लागि राजनीति गर्दैनन् । सामन्तको संरक्षक राजतन्त्रले आफ्नै वरिपरीका आफ्ना दास, दलालको हित संरक्षण गर्न खोज्दछ भने कम्युनिष्टहरु त सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने भनेरै राजनीतिमा लागेका हुन् । उनीहरुको स्कूलिङ्ग नै यस्तै हुन्छ । एउटा वर्गको हित भए पुग्छ, कम्युनिष्ट र सामन्तलाई । लोकतन्त्रमा राजनीति कुनै एउटा पक्षको लागि अरुलाई बर्ग शत्रु सफाया गर्ने भनेर गर्न पाइदैन । अधिनायकवादीहरु आततायी हुन्छन् । उनीहरु धर्म र वर्गका नाममा मानवता बिरुद्धको अपराधमा संलग्न हुन्छन् । अनि धर्म र बर्ग भजाएर भोटको राजनीति गर्दछन् । यीनीहरु धर्म र बर्गका नाममा राजनीति गर्ने पाखण्डहरु हुन् ।

जात र धर्मका नाममा ठूला बिनास

संसारमा धर्म र जातका नाममा ठूला–ठूला नरसंहारहरु भएका छन् । राजनीतिका नाममा भन्दा जात र धर्मका आडमा भएका हिंसामा ठूलो मानवीय क्षति ब्यहोरेको छ, बिश्वले । रामजन्मभूमी र बाबरी मस्जिदका नाममा भारतमा भएको धार्मिक झगडा होस् वा जर्मनीमा नाजी फौजद्वारा यहुदीहरुको बिनस, वा मुस्लिमकै दुइवटा समूह सिया र सुन्नीबीचको लडाई वा हुतु र तुत्सीबीचको जातीय युद्ध होस् वा काला र गोरहरुबीचमा भएको बिभेद बिरुद्धको संघर्षः यस क्रममा धरै ठूलो मानवीय क्षती भएको छ । राजनैतिक आन्दोलनहरुमा को कुन बिचार वा अस्थामा आवद्ध मानिस हो देख्ने बित्तिकै थाहा हुँदैन, ठम्याउन सकिन्न । तर धर्म र जातका आधारमा हुने लडाईमा एकले अर्कोलाई देख्ने बित्तिकै थाहा पाइहाल्छ र यस्तो खाले लडाईमा ठूलो मानवीय क्षति हुने प्रपल संभावना रहीरहन्छ ।

धामिक ग्रन्थहरुमा पनि देवता र दानवबीचको लडाई, राजनीति र शासनसत्ता टिकाउन धर्मका नाममा भएको महाभारतको युद्ध, यदुबंशीहरको बिनास, राम र रावणका सेनाबीचको लडाई, आदिलाई हेर्ने हो भने स्वार्थ, धमण्ड, आपसी बेमेल, द्वेश, घृणा, अपमान, तिरस्कार, पक्षपात, बिभेद, दमन र उन्मादका कारण नै ठूल–ठूला युद्धहरु भएका छन् । युद्धले कसैको जीत हुँदैन । क्षणिक उन्माद त गराउला तर, ठूलो नरसंहार पछिको सन्नाटामा युद्ध अपराधिहरुले आफैं पश्चतापमा जलेर आत्महत्या गरेका थूप्रै उदाहरणहरु छन् । अत्याचारी शासकहरको अन्त्य अत्यन्तै दुःखदायी ढंङ्गले हुने गरेको छ । यस्ता युद्ध अपराधीहरु कि त मारिएका छन्, कि देश छोडेर भागेका छन् । कि बहुलाएर हिंडेका छन् । जात र धर्मका नाममा मानव नरसंहार गर्ने गराउनेहरुको कहिल्यै भलो हुँन्दैन । इतिहासमा कतै भलो भएको पनि छैन ।

बिज्ञान प्रविधिको बिकाससँगै दुनियाँ आज कहाँ पुगीसक्यो । बिकसित देशहरु मंगल ग्रहमा मानव बस्ती बसाउने योजनाकासाथ खोज अनुसन्धान गरिरहेछन् । मृत्यु भएको मानिसलाई प्रविधिको सहायताले पुर्नजीवित गर्न सकिन्छ कि भनेर अध्ययन, आुसन्धान गरिरहेका छन् । तर, गरीब, पछौटे र अबिकसित देशका स्वार्थी मान्छेहरु भने जात र धर्मका नाममा आपसमा लडेर आफू त सकिने नै भए, भावी पुस्तालाई समेत दुःख, कष्ट र अनिश्चयको भूँमरीमा धकेलिरहेका छन् । जहाँ बिकास, त्यहाँ शान्ति र सुख, जहाँ अभाव र गरीबी त्याहाँ जातीय, धार्मिक झगडा । अनि कसरी मुलुक बन्नसक्छ ? कसरी बिकास हुन्छ ? बिकास बिना कसरी समृद्धि आउँछ ? त्यसैले कसैले पनि जात र धर्मका कुरा गरेर देशलाई बर्वादीको खाडलमा हाल्ने राष्ट्रघाती काम–कुरा गर्छ भने देशभक्त लोकतन्त्रवादी  जनताले त्यस्ता देशका दुश्मनहरुलाई बेलैमा चिन्नुपर्छ । र त्यस्ता मावता बिरुद्धका अपराधीलाई दुत्कार्नु पर्छ । सकार्नु हुँदैन । धर्म र जातका नाममा हुने र भएका लडाई पु¥याएको क्षतिका बारेमा कुरा बुझाउनु पर्छ ।

धार्मिक र जातीय सदभाव नै एकताको प्रतीक

एक समय बीपी कोइरालाले भन्नुभएको थियो – कि नेपाललाई बर्वाद गर्ने देशद्रोहीहरुले सबभन्दा पहिला मिलेर बसेका नेपालीहरुका बीचमा धार्मिक, जातीय, भाषिक र सांस्कृतिक रुपमा बिभाजन ल्याउने छन् । त्यसपछि उनीहरुले केही गर्नु पर्दैन । हामी आपसमै लडेर समाप्त हुनेछौं, यदि बिदेशी र देशभित्रकै देशघातीहरुको षडयन्त्रलाई चिर्न सकेनां भने । हो, अहिले ठीक यस्तै खेल गरिरहेका छन्, यो देशका दुश्मनहरुले । जात र धर्मका नाममा भएका हिंसामा परी संसारमा करोडौं मानिसहरुले ज्यान गुमाएका छन् । तर हिंसामा चपेटिएको देशले जहिल्यै हारेको छ । हिंसाको पीडाबाट मुलुकले कहिले प्रगति गर्न सक्दैन । राजनैतिक आन्दोलन र बिद्रोह त एक पटक हार–जित भएपछि साम्य हुन्छ, तर जातीय, धर्मका नाममा भएका हिंसा अनन्तकालसम्म चलिरहन्छ ।

मिलेर बसेका नेपालीहरुमा प्छिल्लो समय केही राष्ट्रघाती, देशद्रोहीहरुले बिभाजन ल्याउने अनेक षडयन्त्र गरिरहेका छन् । खासगरी नेपालीहरुको साझा चाड बडा दशैंलाई बिवादित बनाएर यो नेपालीको बिशेष चाड होइन । यो त बिदेशीको चाड हो भनेर नेपालको नागरिकता भएका केही मानिसहरु केही बर्षदेख दशैमा आफ्नो निधार र अनुहारमा आफैं कालो मोसो दलेर दशैं बहिस्कार गरौं, दशैं नमनाउँ भन्दै गाडीमा माइकिङ्ग गर्दे हिडन थालेका छन् । नेपालमा धेरै जात–जातिका धेरै पर्वहरु छन् । तर कसंले कसैको पर्व बहिस्कार गरौं भन्दैन । सबैले एक आपसमा मिलेर चाड–पर्वहरु मनाउँदछन् । कसंैलै कसैको पर्वलाई बहिस्कार गर्दैन । सम्मान नै गर्दछन् । ती कालो टिका लगाउनेहरु नास्तिक नै भएपनि उनीहरुका पनि कुनै न कुनै पर्वहरु हुँदाहुन्, तर दशैं मनाउनेहरुले  कहिल्यै अरुले चाडपर्व नमानुन् भनेर बहिस्कार गरेका छैेनन्  र गर्नुपनि हुँदैन ।

दशै मनाउने, दशैंमा चामलको अक्षतालाई दही र रातो रङ्गमा मुछेर निधारमा जमरासहित लगाउने बिशुद्ध नेपाली परम्परा हो । यसो गरेर भारतीयहरुले दशैं मनाउँदैनन् । उनीहरु द्येबी दुर्गाको उपासना, आराधना गर्छन । प्रसादी बाँडेर खान्छन्, तर नेपालीले जस्तो नयाँ कपडा लगाएर निधारमा रातो अक्षताको टिका र जमरा लगाएर आफन्त र मान्यजनका हातबाट टिक र आर्शिवाद लिन उनीहरु दशैंको पूर्णिमासम्म हिड्दैनन् । भारतीय, अरबी र तिब्तीयन मुलका नेपालमा बसोबास गर्नेहरुले पनि सामाजिक सद्भावका लागि दशैंमा टिका लगाउने गरेका छन् । तर खास नेपालीहरुले धुमधामकासाथ मनाउने दशैं पर्व कुनै एउटा जाति वा भाषी वा धर्मावलम्बीको मात्र पर्व हुँदै होइन । यो नेपालीहरुको साझा चाड हो । यो चाड सबैले मनाउनै पर्छ भन्ने छैन । नमनाउन पनि पाइन्छ । तर अर्काले चाड–पर्व मनाएका बेला त्यसको बिरोधमा माइकिङ्ग गर्दै हिड्नाले सामाजिक सद्भाव भडकिन्छ । सद्भाव भड्कियो भने हिंसा बढछ । त्यसैले धार्मिक र जतीय सद्भाव बढाएर राष्ट्रिय एकताको प्रतीकलाई अझ बलियो बनाउने काममा सबै लागौं ।