कहिलेकाहीँ मानिस मनभित्रको पीडा, तनाव र निराशालाई केही समयका लागि बिर्सन गिलासमा बियर भर्छ। बाहिरबाट हेर्दा हातमा बियरको गिलास हुन्छ, अनुहारमा मुस्कान हुन्छ; तर मनभित्र भने अनेकौँ प्रश्न, पीडा र बेचैनी चलिरहेको हुन सक्छ।
त्यसैले एउटा प्रश्न आफैँलाई सोधौँ—हामी साँच्चै पीडा बिर्सन खोज्दैछौँ कि बिस्तारै आफैँलाई नै बिर्सन खोज्दैछौँ?बियर वा मध्यपान सेवन गरेपछि केही समयका लागि तनाव कम भएको जस्तो महसुस हुन सक्छ। तर त्यसलाई तनावको स्थायी समाधान ठान्नु गलत निर्णय हुन सक्छ।
पीडा हटेको हुँदैन, केवल केही समयका लागि त्यसलाई महसुस गर्ने तरिका बदलिएको हुन्छ। मनको समस्या जहाँको त्यहीँ रहन्छ, बरु अत्यधिक सेवनले शरीर र मानसिक स्वास्थ्यमा थप समस्या निम्त्याउन सक्छ।
हाम्रो समाजमा मध्यपानसँग जोडिएका विभिन्न सांस्कृतिक तथा धार्मिक परम्परा पनि छन्। कतिपय समुदायमा विशेष संस्कार वा परम्परामा यसको प्रयोग हुने गरेको पाइन्छ। त्यसलाई सम्मान गर्दै पनि एउटा कुरा बुझ्न आवश्यक छ—परम्परा र लत एउटै कुरा होइन।
कहिलेकाहीँ सीमित रूपमा सेवन गर्ने र त्यसैलाई तनाव भगाउने औषधि ठान्दै बारम्बार सेवन गर्नेबीच ठूलो फरक हुन्छ। मात्रा बढ्दै जाँदा नियन्त्रण गुम्न सक्छ। जुन चीज सीमाभित्र रहँदा कसैका लागि सामान्य सामाजिक व्यवहार हुन सक्छ, त्यही चीज सीमा नाघेपछि स्वास्थ्य र परिवारका लागि गम्भीर समस्या बन्न सक्छ।सबैभन्दा खतरनाक कुरा लत बसिसकेपछि सुरु हुन्छ।
“आज यति मात्रै पिउँछु” भनेर सुरु गरेको यात्रा कहिलेकाहीँ “कति पिएँ?” भन्नेसम्म पुग्छ। होसमा हुँदा आफूले गर्न हुने र नहुने कुरा सोच्न सकिन्छ। तर अत्यधिक नशामा विवेक कमजोर हुँदा बोली, व्यवहार र निर्णयले आफूसँगै परिवार र समाजलाई पनि चोट पुर्याउन सक्छ।
मध्यपानकै कारण पारिवारिक कलह, घरेलु हिंसा, दुर्घटना, आर्थिक समस्या र सामाजिक सम्बन्धमा दरार आउने अवस्था देखिन सक्छ। त्यसैले बियरको गिलासमा केवल पेय पदार्थ मात्र हुँदैन; त्यससँगै हाम्रो निर्णय, जिम्मेवारी र आत्मनियन्त्रण पनि जोडिएको हुन्छ।तनाव छ भने गिलास समाउनु अघि एकपटक आफ्नै मन समातौँ।
साथीभाइसँग कुरा गरौँ, परिवारसँग मन खोलौँ, प्रकृतिमा हिँडौँ,योग–ध्यान गरौँ वा आवश्यक परे विशेषज्ञको सहयोग लिऔँ। पीडा बिर्सने बाटो नशा मात्र होइन।गिलास खाली हुँदैमा मन खाली हुँदैन।नशा घटेपछि पीडा फेरि फर्किन सक्छ।त्यसैले पीडाबाट भाग्ने होइन, पीडाको कारण बुझेर समाधान खोजौँ।
बियर वा मध्यपान सेवन गर्ने सबै व्यक्ति खराब हुन् भन्ने होइन। तर लतले मानिसको नियन्त्रण खोस्न थालेपछि त्यसलाई सामान्य ठान्नु पनि बुद्धिमानी होइन।आज गिलास उठाउनु अघि एकपटक आफैँलाई सोधौँ—“म मेरो तनाव कम गर्न खोज्दैछु, कि तनावको नाममा आफैँलाई बिस्तारै गुमाउँदैछु?”सायद यही एउटा प्रश्नले कसैको जीवनमा सही समयमा सही निर्णय लिन मद्दत गर्न सक्छ। गिलासमा बियर, मनभित्र तनाव.... आखिर हामी पीडा बिर्सिन खोज्दैछौँ कि आफूलाई?



















