नेपाली नारीहरूको जीवनमा तीज केवल एउटा पर्व मात्र होइन; यो त भावना, सांस्कृतिक जग, अनि आमा र छोरीबीचको पवित्र सम्बन्धको एउटा अजम्बरी सेतु हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरित तालिका तीजले हाम्रो समाजमा परापूर्वकालदेखि नै छुट्टै रौनक र गरिमा बोक्दै आएको छ।

उत्पत्ति र पौराणिक कथा

'हरित तालिका' शब्द दुईवटा संस्कृत शब्दहरू— 'हरित' (हरण गरिएकी) र 'तालिका' (साथीहरू/सखीहरू) मिलेर बनेको छ। पौराणिक मान्यता अनुसार, हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन कडा तपस्या गरिरहनुभएको थियो। तर, उनका पिता हिमालयले पार्वतीको इच्छाविपरीत उनको विवाह भगवान् विष्णुसँग गरिदिने तयारी गरे। यो कुरा थाहा पाएपछि पार्वतीका सखीहरूले उनलाई पिताको नजरबाट लुकाएर घनघोर जङ्गलमा लगे।त्यही जङ्गलमा पार्वतीले बालुवाको लिङ्ग स्थापना गरी निराहार र निर्जला व्रत बसेर शिवको आराधना गरिन्। पार्वतीको यो निस्वार्थ भक्ति र कठोर तपस्याबाट प्रसन्न भई शिवजी प्रकट भए र उनलाई पतिका रूपमा स्वीकार गरिन। साथीहरूद्वारा हरण गरेर जङ्गलमा लगि व्रत बसेकाले यस पर्वको नाम 'हरित तालिका तीज' रहन गएको पौराणीक कथामा देखीन्छ।

तीजका मुख्य आयाम र महत्त्व

•दर खाने दिन (द्वितीया): तीजको अघिल्लो रात दर खाने चलन छ। मध्यरातमा परिवारका सबै सदस्य विशेष गरी महिलाहरू भेला भएर ढकने, खिर, दर र अडिलो परिकार खाने गर्छन्। यसले भोलिपल्टको कठोर व्रतका लागि ऊर्जा दिने मात्र होइन, पारिवारिक आत्मीयतालाई अझ प्रगाढ बनाउँछ।

•व्रत र पूजा (तृतीया): तीजको मुख्य दिन महिलाहरू रातो साडी, पोते, र चुरामा सजिएर शिव-पार्वतीको पूजा गर्छन्। सौभाग्य, श्रीमान्‌को दीर्घायु र अविवाहितहरूले सुयोग्य वरको कामना गर्दै दिनभर जलसम्म नपिई व्रत बस्ने परम्परा छ।

•ऋषि पञ्चमी (पञ्चमी): तीजको दुई दिनपछि मनाइने ऋषि पञ्चमीको विशेष धार्मिक महत्त्व छ। यस दिन महिलाहरूले सप्तऋषि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) को पूजा-आराधना गर्छन्। दिनभरि ३६५ वटा दतिवनले दाँत माझेर, माटो र भस्मले स्नान गरी जाने-नजानेका त्रुटि र स्पर्श दोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास राखिन्छ।

बालापनको त्यो मीठो सम्झना

सानो छँदा आमाको पछ्यौरा समात्दै तीजको रौनक हेरेको क्षण जीवनकै सबैभन्दा अमूल्य सम्पत्ति हो। तीजको अघिल्लो रात आमाले मध्यरातमा उठाएर मायाले पस्कनुभएको त्यो अमिलो-मीठो अचार, घरको शुद्ध घिउमा मज्जाले भुटेर बनाएको स्वादिलो ढकने र खिरको बास्ना अझै पनि ताजा लाग्छ।आमासँगै बसेर रहरै-रहरमा बसिने त्यो सानो उमेरको व्रत, आमाले रातो टीका र पोते लगाइदिँदा पाइने खुसी, अनि माइतीको आँगनमा बज्ने मादलको तालमा आमाले मारेको संगीनी, मारुनी र सोरठीको भाका— ती सबमा साँचो सांस्कृतिक प्रेम थियो। आमाका ती मिहिनेत र आस्थाका कथाहरूले नै हामीलाई हाम्रो जरासँग जोडेर राखिरहेका छन्।

समयको फेरबदल र वर्तमान परिवेश

अघिल्ला पुस्ताका आमाहरूको अनुभवमा तीज भन्नु नै दुःख, वेदना र माइतीको सम्झना पोख्ने चौतारी थियो। वर्षभरि सासु-ससुरा र घरको कामको धपेडीबाट थकित भएका दिदीबहिनीहरू माइत पुगेर आफ्ना मनका व्यथा गीतका माध्यमबाट पोख्ने गर्थे। तर, समयसँगै तीजको स्वरूप र समाजको संरचनामा लोभलाग्दो परिवर्तन आएको छ।

आजको आधुनिक समाजमा तीज केवल वेदना पोख्ने पर्व रहेन, यो त महिला सशक्कीकरण, सामाजिक समानता, र खुसी साटासाट गर्ने उत्सव बनेको छ। गीतका शब्दहरूमा वेदनाको साटो आत्मसम्मान, अधिकार र फलताका स्वरहरू गुञ्जिन थालेका छन्।

•प्रविधि र विश्वव्यापीकरण: वैदेशिक रोजगारी, अध्ययन वा पेसाका कारण देश-विदेशमा छरिएर रहेका नेपाली नारीहरूलाई आज डिजिटल प्रविधिले नजिक बनाएको छ। भिडियो कलमार्फत टाढा रहेकी आमासँगै बसेर दर खाने, सामाजिक सञ्जालमा आफ्ना खुसी र साडीका तस्बिरहरू साट्ने र डिजिटल माध्यमबाटै तीजका भाकाहरू गुञ्जाउने नयाँ संस्कृति विकास भएको छ।

•स्वास्थ्य र व्यावहारिक दृष्टिकोण: वर्तमान पुस्ताले धार्मिक आस्थासँगै स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिन थालेका छन्। कडा र निर्जला व्रतको सट्टा आफ्ना शारीरिक अवस्था अनुकूल (फलाहार वा जल ग्रहण गरेर) व्रत बस्ने व्यावहारिक र वैज्ञानिक सोचको विकास भएको छ।

•सचेतना र मौलिकताको रक्षा: महिनौँ अघिदेखि पार्टी प्यालेसमा गरिने तडकभडक र खर्चिलो भड्किलोपनले तीजको मौलिकतामाथि केही चुनौती पक्कै थपेको छ। यद्यपि, नयाँ पुस्तामाझ पुनः मौलिक संस्कृति, परम्परागत पहिरन र आफ्नै घरको पकवानतर्फ फर्कने सचेतना पनि बढ्दै गएको छ।

पुराना पुस्ताको अगाध निष्ठा, आमाहरूको त्यो स्नेहमयी स्मृति र नयाँ पुस्ताको उत्साह तथा समावेशी सोच मिलेर हरित तालिका तीज आज झन् जीवन्त, आधुनिक र रूपान्तरित बन्दै गएको छ।