बिर्तामोड। झापामा ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जिल्लाका दुई भिन्नाभिन्नै स्थानबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी को संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने २१ वर्षीय जनक माझी भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल नजिकैबाट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय भद्रपुर र  बाेर्डर आउट पाेष्ट महेशपुरको संयुक्त टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक १६ ग्राम (प्लास्टिकसहित १६ ग्राम १२ मिलिग्राम) खैरो हेरोइन फेला पारेको थियो।

त्यस्तै, झापा गाउँपालिका वडा नं. ५ स्थित सिमलडाँगी हुलाकी राजमार्गमा खटिएको प्रहरी चौकी शरणामती र बाेर्डर आउट पाेष्ट  पन्थापाडाको टोलीले अर्का युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका–६ शरणामती बस्ने खिमानन्द खनालका २५ वर्षीय छोरा प्रेम प्रसाद खनाल रहेका छन्। उनको साथबाट प्लास्टिकबाहेक ६ ग्राम ३६० मिलिग्राम (प्लास्टिकसहित ८ ग्राम ७२० मिलिग्राम) खैरो हेरोइन बरामद भएको छ।

सीमापारि भारतबाट लुकाइछिपाइ नेपालतर्फ भित्र्याउँदै गर्दा दुवै जना पक्राउ परेका हुन्। बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान अघि बढाएको छ।