काठमाडौँ । दक्षिण पश्चिमी रुसको सीमावर्ती बेल्गोरोडमा भएको युक्रेनको सांघातिक आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । मस्कोले युक्रेनलाई रुसी सहरमा घातक हवाई हमला गरेको आरोप लगाएको छ ।

त्यहाँका एक क्षेत्रीय गभर्नरका अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछिको यो सबैभन्दा घातक आक्रमण हो । आक्रमणमा परी मारिनेमा तीन बालबालिका समेत रहेका छन् । यता युक्रेनी सुरक्षा स्रोतले भने शनिबारको कारबाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको दाबी गरेको छ । बीबीसीका अनुसार, शुक्रबार युक्रेनमा रुसले गरेको आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो । 

जसलाई कीभले रुसको युद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल बमबारीका रूपमा व्याख्या गरेको छ । रुसमा युक्रेनले गरेको आक्रमणलाई मस्कोले भने युक्रेनी ओल्खा र चेक निर्मित रकेटहरू सहित धेरै प्रकारका हतियारहरूसहित आक्रमण गरेको आरोप लगाएको छ ।

युक्रेनी सुरक्षा स्रोतका आधारमा बीबीसीले भनेको छ, ‘रसियाले युक्रेनी सहरहरू र नागरिकहरूमा गरेको आतंकवादी हमलाको प्रतिक्रियाको रूपमा युक्रेनले शनिबार जवाफी आक्रमण गरेको हो।’ युक्रेनले बेल्गोरोडको अवस्थालाई भने ‘रूसी वायु रक्षाको अयोग्य काम’ भनेको छ ।

रसियाको अनुरोधमा शनिबार न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बसेको थियो । बैठकमा रसियाले चेक प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेको थियो। बैठकको क्रममा, संयुक्त राष्ट्रका लागि रसियाका राजदूत भासिली नेबेन्ज्याले युक्रेनलाई ‘नागरिक लक्ष्य विरुद्ध जानाजानी, अन्धाधुन्ध आक्रमण’ गरेको आरोप लगाए । उनको टिप्पणीलाई युक्रेनका सहयोगीहरूले तुरुन्तै खण्डन गरेका थिए, फ्रान्सेली राजदूतले भने कि युक्रेनले संयुक्त राष्ट्रको कानून अन्तर्गत आफ्नो रक्षा गरिरहेको छ, जबकि अमेरिका र बेलायत लगायतका अन्यले भने कि राष्ट्रपति भ्लादिमिर पुटिन द्वन्द्व सुरु गरेर रूसी मृत्युको लागि जिम्मेवार थिए। संयुक्त राष्ट्रका सहायक महासचिव मोहम्मद खियारीले दुवै पक्षबाट भएको आक्रमणको ‘स्पष्ट रूपमा निन्दा’ गरे । 

रुसी रक्षा मन्त्रालयका अनुसार यसअघि पनि बेल्गोरोडमा १३ वटा क्षेप्यास्त नष्ट गरिएको थियो भने ३२ वटा ड्रोन खसालिएको थियो ।

शुक्रबार युक्रेनमा रुसले गरेको बमबारीमा भने ३९ जनाको ज्यान गएको थियो भने १६० भन्दा बढी हताहतमा परेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जसमा राजधानी कीभ सहित कैयौँ सहरहरु प्रभावित भएका छन् ।