बिर्तामोड । झापाको बिर्तामोडमा १७ वर्षअघि सञ्चालनमा आएको कन्काई हस्पिटलले गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको छ ।

kankai-768x386

हस्पिटलको आज भएको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा  बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक गरी करिब ५६ हजारजनालाई स्वास्थ्य सेवा दिइएको जनाइएकाे छ । 

हस्पिटलका प्रबन्ध निर्देशक युवराज डाँगीद्वारा प्रस्तुत प्रतिवेदनमा ३९ हजार ८९२ जनालाई नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गत सेवा दिएको उल्लेख छ ।

हस्पिटलले सबै प्रकारका ल्याबमा चार लाख ९६ हजार ६७० जना बिरामीको परीक्षण गरेको जनाएको छ । एक वर्षको अवधिमा जेनेरल वार्डमा पाँच हजार २१३ र सघन उपचार कक्ष (आइसियु) मा २८३ जनाको उपचार भएको थियो ।

शल्यक्रियाका लागि प्रख्यात कनकाई हस्पिटलले गत वर्ष सामान्य शल्यक्रिया ६५७ वटा र गम्भीर शल्यक्रिया एक हजार ४०४ वटा तथा महिला तथा प्रसूतिको शल्यक्रिया २२० वटा गराएको डाँगीले बताए ।

अस्पतालका अध्यक्ष डक्टर प्रेमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले कन्काई हस्पिटल सबै खालकाे आर्थिक अवस्था भएका बिरामीलाई उपचार गर्ने  थलाे भएकाे बताए । उनले हस्पिटलमा चिकित्सक र व्यवस्थापनकाे टिम सक्षम रहेकाे बताए । 

कार्यक्रममा कम्पनी सचिव तथा कानुनी सल्लाहकार सोमबहादुर राई, अस्पतालकी मेट्रोन निशा विकऽ सञ्चालक महेन्द्रबहादुर राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अस्पतालका सञ्चालक तथा संस्थापक प्रबन्ध निर्देशक महेन्द्रबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वसञ्चालक फणीन्द्र चापागाईंले गरेका थिए । साधारणसभापछि हुने बन्दशत्रले हस्पिटलकाे नयाँ सञ्चालक समिति चयन गर्ने छ ।