प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थीद्वारा १ सयबर्ष अघि लिखित नाटक रिफण्ड क्षितिज नाट्य प्रतिष्ठानको नवनिर्मित भवन झापा नाटकघरमा मञ्चन गरिने भएको छ।

मोरङको विराटनगरस्थित नाम्लो नाट्य समूह, झोराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा उक्त नाटक मञ्चन हुन लागेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघर निर्माण कार्यका अभियन्ता तथा परिकल्पनाकार,  रंगकर्मी माधव कल्पितले जनाएका छन ।

यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समावेश भएको कारण नाटक विद्यार्थी ,शिक्षक तथा अभिभावक सबैले हेर्नुपर्ने नाटकका निर्देशक सुदिपजंग कार्कीले बताए । कार्कीका अनुसार नाटक करिव एक घण्टाको रहेको छ । नाटकमा सुरज माझी, दीक्षा चौधरी ,  वन्वो सन्तोष , प्रज्वल भट्टराई , प्रदिप दाहाल ,विवेक मिश्र र सुदिपजंग कार्कीको अभिनय रहने निर्माण पक्षले जनाएको छ । नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने छन् भने म्युजिक सञ्जय मुडियारीको रहने छ ।

नाटकको लागि शिक्षासेवी तथा क्षितिज साहित्य प्रतिष्ठान झापाका सचिव ताराप्रकाश भट्टराईको संयोजकत्वमा संगीत बिभाग सचिव सुजन शिवाकोटी उपाध्यक्ष र नाट्य बिभाग सदस्य तुलसी मिश्र सचिव रहने गरी ३ सदस्यीय नाटक मञ्चन ब्यबस्थापन समित गठन भएको क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसीप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

सडकमा १५ रुपैयाँको १ थान इटा मागेर विगत ४ बर्ष अघिबाट बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण कार्यमा जुटेको प्रतिष्ठानले हालसम्ममा २ करोड ७३ लाख ६० हजार मूल्य बराबरको नाट्य कलामन्दिर निर्माण गरिसकेको र कोशी प्रदेशकै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय निर्माणका लागि १सय ४५ धुर जमिन जुटाउन सफल भएको छ । उक्त जमिनमा २५ अर्ब लागतमा साँस्कृतिक संग्रहालय निर्माण गरिने प्रारम्भिक इस्टिमेट भइरहेको नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कल्पितले जानकारी दिएका छन् ।

नाटकघरको पूर्णताका लागि पहिलो पटक मञ्चन गर्न लागिएको नाटक रिफण्डबाट करिव २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बोकेर अघि बढेको प्रतिष्ठानलाई हल्दिबारी गाउँपालिका, बिर्तामोड , अर्जुनधारा, भद्रपुर र कनकाई नगरपालिकाले आ– आफ्ना पालिकाभित्रका बिद्याथीर्, शिक्षक, अभिभावकलाई बिद्यार्थीको पाठ्यक्रममा नै समाबेश भएको नाटक हेरेर सहयोग पुर्याइदिन भन्दै सबै विद्यालयमा सर्कुलर गरिसकेको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिएका छन् ।