बिर्तामोड । झापाको बिर्तामोडमा फागुन ७ गते सोमबार कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम हुने भएको छ । २८६०औँ सोनाम ल्होछारको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिर्तामोडको होटल हेभन ग्राण्डसँगको सहकार्यमा होटलको प्राङ्गणमा कार्यक्रम गर्न लागिएको हो । इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेसनको आयोजनामा हुन लागेको कार्यक्रमको इभेण्ट मेनेजमेन्ट प्रमिस इन्टरटेन्मेण्टले गर्ने शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गरी अध्यक्ष केवल तामाङले जानकारी दिए ।

कार्यक्रममा सांगितिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मोक्तानलाई सम्मानसमेत गरिने अध्यक्ष तामाङले बताए । कार्यक्रममा कुन्ती मोक्तानसँगै वरिष्ठ संगीतकार तथा स्रष्टा सिलाबहादुर मोक्तान र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

सिक्किम, दार्जिलिङबाट पनि पाहुना कार्यक्रममा सहभागि हुन आउने तामाङले बताए । साँझ ५ बजेदेखि आयोजना गरिने कार्यक्रममा करिब तीन सय सहभागि हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा दुई जना र चार जनाको अलग अलग टेबल राखिने र ५ हजार र १० हजार टेबल शुल्क लिइने अध्यक्ष तामाङले जानकारी दिए । आयोजकका अनुसार सो शुल्क बापत तामाङ सांस्कृतिक परिकारसँगै ७ किसिमका खाद्य परिकार र पेय पदार्थ उपलब्ध गराइने छ ।

हराउँदै गएको संस्कृतिको जगेर्नामा सहयोग पुर्याउने उद्धेश्यले होटल हेभनले सहकार्य गरेको होटलका सञ्चालक भक्तराज भारतीले बताए ।

यो कार्यक्रमले विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मान्दै आएको सोनाम ल्होछारको प्रबर्धन हुनुका साथै स्रष्टाहरुको मनोबल बढ्ने  सचिव सुनिता तामाङले बताइन् ।