बिर्तामोड । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी क्षेत्रमा प्रयोग गर्ने गरिएको फेला परेको छ । पछिल्लो समयमा झापाबाट हराएका ८ वटा मोटरसाइकल प्रहरीले ताप्लेजुङमा बरामद गरेको छ ।

झापाबाट खटिएको प्रहरीको बिषेश टोलीले ८ वटा मोटरसाइकल बरामद गरेर धनीलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने बाल कुमार मगर सहित बरामत मोटरसाईकल सार्वजनिक गरेको हो ।

गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरको जोरपोखरीमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा विक्री गरिहरेको सूचना पाएको थियो ।

प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी, बिर्तामोडका डिएसपी सुरज कार्की, निमित्त प्रवक्ता ढुण्डीराज गिरी लगायतले चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्न मगरलाई सार्वजनिक गरेका हुन् ।

प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरुले कावेलीसम्म पुराईदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । अधिकांस मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

झापामा पछिल्लो केहि समय सयौं मोटरसाइकल चोरी भएका छन् ।