बिर्तामोड । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या वृद्धि भइरहेको जानकारी दिए । 
 प्रथम वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिवद्ध भई काम गरिरहेको बताए । उनले अस्पतलामा सेवा विस्तारसँगै विरामीको चाप बढिरहेको जानकारी दिए ।
 विरामीहरुले अस्पतालमा उपलब्ध सेवाबाट प्रभावकारी रुपमा लाभान्वित भएको बताए । उनले एक वर्षको अवधिमा दिइएको सेवाको विवरण समेत सार्वजनिक गरेका छन् । नगर अस्पतालले स्त्री तथा प्रसुति रोग, बालरोग विशेषज्ञ सेवा र मनोरोगको समेत सेवा उपलब्ध गराइरहेकोे अधिकारीले जानकारी दिए । २४ घण्टा बर्थिक सेन्टर सञ्चालन गरेको नगर अस्पतालमा ३९ जनाको डेलिभरी सफल भएको डा. अधिकारीको भनाई छ । उनका अनुसार आमा बच्चा दुवैको स्वास्थ्य स्वस्थ्य रहेको छ । बालरोग विशेषज्ञको सेवा सुरु भएपछि ७ हजार ५ सय २१ जना १४ वर्षमुनीका 
बालबालिकालाई उपचार सेवा प्रदान गरिएको छ । नियमित खोप सञ्चालन हुने अस्पतालमा अहिले दादुरा रुवेला विरुद्धको खोप समेत सञ्चालन भइरहेको छ । नगर अस्पतालमा चैत २ गते छुटेका बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको दिइने डा. अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा टिभी तथा लेभ्रोसीको पत्ता लगाउने र उपचार काम भइरहेको छ । 
 आधारभूतदेखि शल्यक्रियासम्मका सेवा दिदै आएको नगर अस्पतालमा सेवा प्रवाहमा कुनै कञ्जुस्याई नगरेको उनको दावी छ । कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिएको बताइन् । उनले अस्पताललाई नगरवासीको स्वास्थ्योपचारमा भरपर्दो संस्थाको रुपमा स्थापित गर्ने बताएकी हुन् । विगतमा सिटामोल र आइरन चक्की मात्रै वितरण हुने अस्पतालको सेवा विस्तार धेरै अघि बढिसकेको उनको भनाई थियो । 
आगामी दिनमा नागरिकले खोजेका सबै प्रकारका स्वास्थ्य सेवा नगर अस्पतालमै उपलब्ध गराउन स्थानीय सरकार प्रतिवद्ध भएको बताइन् । विभिन्न चुनौतिका बाबजुत पनि नगर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको उनको भनाई छ । पैसा अभावले उपचार गर्न नसक्ने विपन्न परिवारहरुलाई उपचारमा कुनै पनि असुविधा नहुने धारणा राखेकी छन् । उनले अस्पतालको सेवा प्रवाहमा आवश्यक सूझाव समेत दिन आग्रह गरेकी छन् । नगर अस्पतालमा कार्यरत डाक्टर, सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदैं नगर प्रमुख प्रसाईले आगामी दिनमा समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सूझाव दिएकी छन् ।
प्रथम वार्षिकोत्सवमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मी आचार्य लगायतले उपचार सेवालाई थप प्रभावकारी बनाइने बताए । उनीहरुले आगामी दिनमा सेवा विस्तारलाई ध्यान दिने बताएका छन् ।