काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ।

गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुईजनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। मृतक अन्दाजी २८ वर्षीय पूजन राई र उमेर नखुलेका रोबस राई छन्।

उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको एसपी सुवेदीले जानकारी दिए। राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई जानकारी भएको थियो।

उक्त खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।

छुरा प्रहारबाट एकजनाको तिग्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो।

उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूसँग सोधपुझ गरिरहेको छ। 

मृतक पूजन पाँचथर घर भई खुमलटार बस्ने र रोबस धरान घर भई ढोलाइटी बस्ने खुलेको छ। 

रोबसको शव पाटन अस्पतालमा राखिएको छ भने पूजनको सुमेरु अस्पतालमा छ । पोस्टमार्टममा लागि पूजनको शव पनि पाटन अस्पताल नै लैजाने तयारी भइरहेको छ।