बिर्तामोड । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएका दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गएराति ९.३० बजे धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरू रहेका छन् । उनीहरूले प्रयोग गरिएका पुराना सरसामान (जिटीकुन्टा) हरू लिएर घर फर्किँदै थिए ।

यात्रु शाखाबाट पुराना सरसामानको जाँचपास गराएबापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापनपत्र प्रहरीले फेला पारेको छ । तर, ट्रकभित्र पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतिरेको स्रोतको दाबी छ ।

ती ट्रक इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ । अहिले जनप्रतिनिधिको रोहवरमा ट्रकभित्रको सामान खोलिदै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले शंका लागेर प्रहरीले ती ट्रक समातेको बताउँदै ट्रक खोलेपछि त्यहाँभित्रको सामान थाहा हुने जानकारी दिए ।