बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

झापासहित पूर्वका सहकारीहरुमा श्रृङखलावद्ध चोरी गर्ने समूहलाई झापा प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन ।

सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । यसरी जिल्लाभरका दर्जन बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ ।

सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो । संघले सहकारी दिवसमा सहकारी विरोधी विरुद्ध शक्ति प्रदर्शन समेत गरेको थियो ।