बिर्तामोड । नक्कली सुन देखाई ठगी गर्ने एकजना भारतीय नागरिक झापाको बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको जल्पाइगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् ।

उनलाई हिजो दिउँसो बिर्तामोड नगरपालिका वडा नं.५ शनिश्चरे रोडमा फेला पारी नियन्त्रणमा लिइएको हो ।

हिजो दिउँसो अन्दाजी २ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं ५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका वडा न.२ बस्ने ४५ वर्षीया सविता सिटौलालाई गिरीले ‘मसंग काँचो सुन छ। तपाईलाई म रु.६० हजारमा काँचो सुन दिन्छु’ भनी ललाई फकाई ६० हजार रकम लिई सवितालाई बिस्कुट जस्तो आकारको नक्कली सुन (टिल) दिएर ठगी गरेका थिए ।

पीडितले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउना साथ उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई शनिश्चरे रोडमा फेला पारी नियन्त्रणमा लिई सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।