झापा । झापाको बुद्वशान्ति-३ का दिनेश तिम्सिनालाई भाईको बिहेमा साथीहरूले 'हुत्तिहारा' प्रमाणपत्रले सम्मान गरेका छन् ।

उमेरले ३५ बर्ष कटिसक्दा पनि बिवाह नगरेको भन्दै उनका दौंतरीले सो प्रमाणपत्र दिएका हुन् । उनका काकाको छोरा तीर्थको बैशाख-७ गते बिवाह भएको थियो । सोही दिन उनका दौंतरीले 'उमेर पुगेर पनि बिवाह गर्न नसकेको' भन्दै हुत्तिहारा उपनाम उल्लेख गरेर प्रमाणपत्र प्रदान गरेका हुन् । 

प्रमाणपत्रमा 'बुद्वशान्ति-३ बस्ने यामनाथ र मायादेबी तिम्सिनाको माइलो छोरा अन्दाजी ३५ बर्षको दिनेश तिम्सिना ले आफ्नो उमेर बितिसक्दा पनि बिवाह गर्न अनकनाएको र आफू भन्दा सानो भाईले बिवाह गरिसकेको हुदा निज दाजु भनाउदो दिनेश तिम्सिनालाई अविबाहित संघ झापाको तर्फबाट हुत्तिहारा प्रमाणित गरि सचिव पदमा नियुक्त गरिएको छ । उक्त कार्यकाल सफलतापुर्वक निर्वाह गरि आगामी दिनमा पनि बिवाह नगरि बस्न सादर अनुरोध छ' उल्लेख गरिएको छ । 

'अविबाहित संघ झापा जिल्ला कार्य समिति' को नामबाट प्रदान गरिएको प्रमाणपत्र उनले लिएको बताए । आफ्ना दौंतरीले गरेको ठट्टा सामाजिक सञ्जालमा अपेक्षा भन्दा बढी भाइरल भएकोमा उनी अचम्म लागेको बताउँछन् । दौतरीले हुत्तिहारा भन्दा उनिहरुसँग गुनासो नरहेको तिम्सिनाको भनाई छ । 

'यतिसम्म भाईरल होला भन्ने त सोचेको थिएनौ, उनले भने-'अब सबैले थाहा पाईहाले के गर्नु र ?' स्थानीय पत्रकार रोशन भटराईले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि घटना भाईरल भएको थियो ।