बिर्तामोड । झापा प्रहरीले एकैदिन ९ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
प्रहरीले बिशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चारजना भुटानी शरणार्थीसमेत रहेकमरा छन् ।
हिजो अपराह्न दमक-३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर नं. सि २ हट नं. २१२ बस्ने आशिष राई, सेक्टर नं. सि ३ हट नं. २५१ बस्ने कुसल प्रधान र सेक्टर सि २ हट नं.९७/९८ बस्ने पुर्णबहादुर मगर रहेका छन् ।
उनीहरुको साथबाट ३३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, हिजो दिउसो भद्रपुर-५ गणेश मन्दिरका शिबु चौधरीले आफ्नै घरमा लागु औषधको कारोबार गर्दै गर्दा पक्राउ परेका छन् । उनको साथबाट १ ग्राम १६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै भद्रपुर-५ मेचीपुलमा भारतबाट नेपालतर्फ ब्राउन सुगर लिएर आँउदै गर्दा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही स्थानका राजेन राजबंशी रहेका छन्।
उनको साथबाट २१ ग्राम ०९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । राजवंशीलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
यसैगरी, हिजो राती बुद्धशान्ति-३ डाँडागाँउ हडियाखोलाबाट लागूऔषध ब्राउनसुगरसहित स्थानीय बबिन राई पक्राउ परेका छन् । उनको साथबाट ८०० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, भद्रपुर-४ डाँगीबारीबाट दुईजना पक्राउ परेका छन् । बिर्तामोड-९ नडियाबारी बस्ने राजु राजबंशी र पारश गौरेपिप्लीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुबाट २ ग्राम ब्राउनसुगर बरामद भएको छ ।
यसैगरी, हिजो बेलुका दमक-३ भुटानी शरणार्थी शिविर सेक्टर न. सि ४ हट न.४५६ घर भई इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार रहेका लागूऔषध मुद्दाका एकजना भुटानी शरणार्थी पक्राउ परेका छन् ।
जेनजी आन्दोलनमा भदौ २४ गते फरार भएका आशिष तामाङलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ ।


















