झापा । मोरङको रंगेलीबाट नक्कली नोटसहित १ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । रंगेली नगरपालिका–२ का सिटी चालक सहमद हुसेनलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो 

स्थानीय दुईवटा पसलमा उधारो तिर्दा हुसेनले १-१ हजार दरका नक्कली नोट दिएको प्रहरीले जनाएको छ । नोट शंकास्पद लागेपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै पुगेको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा घरमा समेत नक्कली नोट रहेको बताएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोली राति ८ बजेतिर हुसेनको घर पुगेको थियो ।

खानतलासी गर्ने क्रममा हुसेनले चलाउँदै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारीको चालक बस्ने सिटको डिकीभित्र १ हजार दरका २ वटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार हुसेनकै साथबाट पनि अर्को नक्कली नोट फेला परेको थियो ।

साथबाट बरामद भएको, पसलमा दिएको र सीटी सफारीमा फेला परेको गरेर ५ वटा नक्कली नोटसहित हुसेनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ ।