झापा । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल क्षेत्रबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज साँझ करिब १८:५५ बजे वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंका लागि चेकजाँच गरेको थियो।

जाँचका क्रममा भारत, सुपोल जिल्ला त्रिवेणीगंज-१२ घर भई हाल झापा बिर्तामोड–४ बस्दै आएका अन्दाजी १८ वर्षीय अमर कुमारले नाकभित्र लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागूऔषध प्लास्टिकसहित २ ग्राम ८९० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५५० मिलिग्राम रहेको छ।

उक्त लागुऔषधसहित पक्राउ परेका युवकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।