बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल क्षेत्रमा लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज अपराह्न करिब ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ८७ प ३७६ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–२ का २३ वर्षीय राजिव कुमार राजवंशीको साथबाट प्लास्टिक बाहेक ३ ग्राम २६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी मोटरसाइकलको पछाडि सवार हल्दिबारी–१ का ४० वर्षीय शिव प्रसाद गौतमको साथबाट पनि प्लास्टिक बाहेक २ ग्राम ५४० मिलिग्राम सोही प्रकृतिको लागुऔषध बरामद गरिएको छ।

बरामद लागुऔषधसहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ।