झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
हिजो साँझ करिब ६:०० बजे भद्रपुर नगरपालिका–५ नयाँ बजार क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूलाई शंका लागी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बिर्तामोड नगरपालिका–८ गरामनी बस्ने २८ वर्षीय किरण श्रेष्ठको साथबाट प्लाष्टिक बाहेक २ ग्राम ०६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही स्थानका २८ वर्षीय अविशेक लिम्बुको साथबाट १ ग्राम १७० मिलिग्राम तथा मोरङको लेटाङ नगरपालिका–५ बस्ने २५ वर्षीय सरोज थापाको साथबाट १ ग्राम ४६० मिलिग्राम सोही प्रकारको लागुऔषध फेला परेको छ।
तीनै जनाको साथबाट जम्मा ४ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी तथा चेकजाँचलाई अझ कडाइका साथ अघि बढाइएको जनाएको छ।




















