बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापा ले सञ्चालन गर्दै आएको “अपरेशन ड्रागन” अभियान अन्तर्गत लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चैत २१ गते बेलुका करिब ६:३० बजेको समयमा भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको आशंकामा एक घरमा छापा मारेको थियो।
छापा मार्ने क्रममा बब्लु मर्डि को घरबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २८४ ग्राम ५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा त्यही स्थानमा लागूऔषध खरिद गर्न आएका अनमोल गजमेर लाई समेत नियन्त्रणमा लिइएको थियो।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नेपाली रुपैयाँ करिब ३ लाखभन्दा बढी, विभिन्न विदेशी मुद्रा (अमेरिकी डलर, पाकिस्तानी रुपैयाँ, अस्ट्रेलियन डलर, भारतीय रुपैयाँ) तथा मोबाइल फोनहरू समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय झापा को नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। साथै, लागूऔषध नियन्त्रण अभियान “अपरेशन ड्रागन” अन्तर्गत झापामा निगरानी र कारबाहीलाई अझ कडा बनाइएको पनि जानकारी दिइएको छ।




















