झापा । झापाको दमकका बिरेन्द्र बस्नेतलाई दुरेन राइको समुहले निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।
आज बिहान करिब १०:३० बजे दमक नगरपालिका–१ हवल्दार चोकका ४३ वर्षीय बस्नेतलाई केही व्यक्तिहरूले छलपूर्वक बोलाई कुटपिट गरेका हुन्।
दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राई लगायतका ४ जनाले “काम छ” भन्दै दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा उनलाई बोलाएका थिए।
बस्नेत त्यहाँ पुगेपछि उनीमाथि अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्दै कुटपिट गरिएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय दमकको टोलीले संलग्नमध्ये शिव साह र दुरेन राईलाई नियन्त्रणमा लिएको छ भने अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र घाँटीमा चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



















