बिर्तामोड । आज बिहान झापाको अर्जुनधारा नगरपालिका–११ बगान क्षेत्रमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको हो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिक बाहेक उक्त पदार्थ २७ ग्राम ८३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अर्जुनधारा–११ निवासी २५ वर्षीय संजोग राई, सोही स्थानका २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई पक्राउ गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।