बिर्तामोड । लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको “स्वीप अपरेशन” अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी इकाइहरूले वैशाख १० गते ६२ जनालाई नियन्त्रणमा लिएका छन्।
उक्त अभियानका क्रममा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर तथा नगद रु. ९,००० समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यसै क्रममा दमक नगरपालिका–४ ताराबारी क्षेत्रमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लागुऔषध तथा मादक पदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको आयोजनामा गरिएको उक्त परीक्षणमा ५४ जना चालक तथा सहचालकको जाँच गरिएको थियो।
जाँचका क्रममा ३ जना चालक र २ जना सहचालकमा लागुऔषध सेवन गरेको पुष्टि भएको छ भने २ जना चालकले मदिरा सेवन गरी सवारी चलाएको पाइएको छ। नियन्त्रणमा लिने क्रममा लागुऔषध तथा मदिरा सेवन गरेका ६ जनाले प्रहरीमाथि गालीगलौज तथा दुर्व्यवहार गरेपछि उनीहरू विरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त अभियान मिति २०८३ वैशाख ११ गतेसम्म जारी रहेको जनाइएको छ।

















