बिर्तामोड । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण अभियान अन्तर्गत हिजो गरिएको स्वीप अपरेशनमा ६६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये १२ जना व्यक्तिबाट १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ११७ ट्याब्लेट र डेकोलिक-१०५ ट्याब्लेट बरामद गरिएको छ।
बरामद लागुऔषधसहित पक्राउ परेका १२ जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि बिहीबार गरिएको स्वीप अपरेशनमा ६२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। सो क्रममा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद रु ९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिइने बताएको छ।



















