इलाम । हिजो साँझ करिब इलामको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँबाट एक युवकलाई एसएलआर राइफलको राउण्डसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी बन्दुके इलामबाट खटिएको टोलीले संकास्पद अवस्थामा बसिरहेको अवस्थामा फेला परेका इलाम नगरपालिका–५ बिब्ल्याटे निवासी अन्दाजी १८ वर्षीय बिश्वास राईलाई चेकजाँच गर्दा उनीसँग रहेको निलो रुकस्याक झोलाबाट एसएलआर राइफलको ७.६२ एमएमका २५ राउण्ड, चार्जर ब्रिज ५ थान, बिन्दुली १ थान बरामद गरेको हो।
त्यसैगरी, नगद रु. १६ हजार ७२५, अलैंची टिप्न प्रयोग हुने सिकल ४ थान, हँसिया १ थान, रेड्मी मोबाइल १ थान तथा Itel कम्पनीको सिम र ब्याट्री नभएको मोबाइल १ थान समेत फेला परेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान भइरहेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले काठमाडौँको रत्नपार्क नजिक रहेको प्रहरी कार्यालयबाट “जेनजी आन्दोलन” का बेला उक्त राउण्ड लुटिएको दाबी गरेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



















