बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ स्थित गन्तव्य डान्सबारमा गएराति वादविवाद हुँदा कुटपिटको घटना भएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि कार्यालयमा ल्याएको जनाएको छ।
कुटपिटबाट घाइते हुनेहरूमा मेचीनगर नगरपालिका–१ बस्ने २० वर्षीय सिद्धार्थ साही रहेका छन्। उनको टाउकोमा चोट लागेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यस्तै सोही स्थानका ३० वर्षीय कर्ण राईको अनुहारमा चोट लागेको छ। दुवै घाइतेको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१२ बस्ने २१ वर्षीय निशान लामा, २२ वर्षीय प्रशान्त लिम्बु र भद्रपुर नगरपालिका–८ बस्ने २२ वर्षीय नित्य राजवंशीलाई नियन्त्रणमा लिएको छ।
यस्तै अर्जुनधारा नगरपालिका बस्ने करिब २० वर्षीय लाक्पा तामाङ भने फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।


















