बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चियाबगान क्षेत्रमा लागुऔषध कारोबार  गरिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

आज दिउँसो करिब १:३० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर फेला पारेको हो।

प्रहरीका अनुसार बरामद पदार्थ प्लास्टिक बाहेक १२ ग्राम १० मिलिग्राम रहेको छ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय विश्च राजवंशी, अर्जुनधारा–४ का २६ वर्षीय सनम खड्का, अर्जुनधारा–५ का २९ वर्षीय ध्रुव कुमार दनुवार, अर्जुनधारा–११ का २९ वर्षीय मन्दिप राई र सोही स्थानका ३४ वर्षीय उमेश तामाङ रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।