झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजार क्षेत्रबाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
हिजो राति करिब ८:३० बजे लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले मे २ प २८३६ नम्बरको होण्डा साइन मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक बुद्धशान्ति–१ निवासी ३८ वर्षीय हरी प्रसाद ढकालले शरीरभित्र लुकाएर राखेको अवस्थामा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
उक्त लागुऔषध बरामद गरी ढकाललाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

















