बिर्तामोड । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१ गोर्खे मा गर्भवती गाई मृत अवस्थामा फेला परेको छ।
मिति २०८३ साल वैशाख २० गते बिहान करिब ७:३० बजे स्थानीय दिपेश मोदी र शुसिला मोदीले गाई दुहुन गोठमा जाँदा चार माउ गाईमध्ये एक गर्भवती गाई बञ्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा फेला पारेका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी को प्र. चौकी गोर्खेबाट प्र.सा.नि. इन्द्रबहादुर मगरको कमाण्डमा प्रहरी टोली खटिएको थियो। घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का तयार गरेको छ।
नगरपालिका पशु शाखाबाट प्राविधिक टोली बोलाएर गाईको पोस्टमार्टम गर्ने तयारी भइरहेको जनाइएको छ। गाईको हत्या कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त घटनाबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।



















