बिर्तामोड । बिर्तामोडमा खुलेका डान्स बार लफडाको केन्द्र बन्दै गएका छन् । बिर्तामोडमा हाल दर्जनौ डान्सबार सञ्चालनमा छन् । ती डान्सबारमा हरेक दिन हुल हुज्जत, झगढा तथा कुटपिटका घटना हुने गरेको बताएको छ । 

केही दिन पहिला भाटभटेनी सुपर मार्केट नजिकै सञ्चालित गन्तव्य डान्सबारमा कुटपिटको घटना भएको थियो । बाउन्सरको कुटपिटबाट दुईजना घाइते भएका थिए ।

हिजो राति बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित तृष्णा बारको अगाडि कुटपिट हुँदा दुई जना घाइते भएका छन्।

राति करिब १:०० बजे नाम थर नखुलेका दुई जना युवाले बिर्तामोड–६ निवासी २२ वर्षीय रुसन श्रेष्ठलाई कुटपिट गरेका हुन्। मादक पदार्थ सेवन गरेका श्रेष्ठको बायाँ गालामा चोट लागेको प्रहरीले जनाएको छ। उनको उपचार भइरहेको छ।

त्यसैगरी झगडाकै क्रममा तृष्णा बारका सेक्युरिटी गार्ड बिर्तामोड–४ निवासी २० वर्षीय दिपेश चौधरीको दाहिने गालामा चोट लागेको छ। उनको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब निरीक्षक कमला लिङ्देनको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।