काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरूले विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेका छन्।

वैशाख २८ गतेदेखि २९ गतेसम्म काठमाडौं, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट लागु औषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूबाट कुल ५५० ग्राम खैरो हेरोइन, डिजिटल तराजु थान १ तथा नगद रु. १६ लाख ६३ हजार ५५० बरामद गरिएको जनाएको छ।

कोटेश्वरबाट ४१ ग्राम खैरो हेरोइनसहित भोजपुर हतुवागढी गाउँपालिका–१ का ३१ वर्षीय भरत ओबेदवा, दोलखा मेलुङ गाउँपालिका–२ का ३६ वर्षीय गोपी कटुवाल र भारत बिहार भागलपुर थाना सझौर बस्ने ३४ वर्षीय मंगल राम पक्राउ परेका छन्।

यस्तै, शाखा कार्यालय धनकोट र प्रहरी वृत्त धनकोटको संयुक्त टोलीले १९७ ग्राम खैरो हेरोइनसहित झापा बिर्तामोड नगरपालिका–४ का २८ वर्षीय गंगा राई र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ का २६ वर्षीय गौतम के.सी.लाई पक्राउ गरेको जनाएको छ।

नेपालगञ्ज शाखाले २८० ग्राम खैरो हेरोइनसहित भारत उत्तरप्रदेश लखिमपुर खिरी थाना टिकुनिया ग्राम बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र २० वर्षीय विजय सिंहलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी, पोखराबाट ३० ग्राम खैरो हेरोइन, डिजिटल तराजु र नगद रु. ११ लाख ४८ हजारसहित हाल कास्की पोखरा महानगरपालिका–२१ बस्ने रौतहटका २२ वर्षीय रविना खातुन पक्राउ परेकी छन्।

सुर्खेत शाखाले ३ ग्राम खैरो हेरोइन र नगद रु. ५ लाख १५ हजार ५५० सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१४ का २० वर्षीय प्रशान्त सुनार र वीरेन्द्रनगर–३ का ४८ वर्षीय एकेन्द्र बहादुर सुनारलाई पक्राउ गरेको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।