झापा । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ बसपार्कमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्।

गएराति फुङलिङ नगरपालिका–१ आमबोटे बस्ने २९ वर्षीय रुपेश मादेन होटलभित्र बसिरहेको अवस्थामा फुङलिङ–१० फुरुम्बु बस्ने ३३ वर्षीय गणेश लिम्बुले खुकुरी प्रहार गरेका हुन्।

घटनामा घाइते भएका रुपेशको टाउको, बायाँ हातको नाडी तथा दायाँ हातका माइली, साइली र कान्छी औँलामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। हाल उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन्।

घटना लगत्तै खुकुरी प्रहार गर्ने गणेश लिम्बु फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।