बिर्तामोड । झापाको कनकाई नगरपालिका–५ चाप्रामारी क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक छत्रा श्रेष्ठको कमाण्डमा खटिएको दुई सदस्यीय प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गरेको थियो।

जाँचका क्रममा झापा कमल गाउँपालिका–५ बस्ने २६ वर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका–६ बस्ने २० वर्षीय प्रदिप रसायलीको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल १५ ग्राम २१० मिलिग्राम र प्लास्टिक बाहेक ११ ग्राम ९७० मिलिग्राम रहेको छ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।